काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने जिम्मेवारी युवाहरूको काँधमा आइसकेको बताएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय युवा दिवस-२०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि युवाहरू सक्षम भइसकेको बताए। उनले आफ्नो युवावय संघर्ष र क्रान्तिले भरिपूर्ण रहेको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको इतिहास पनि उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, “अविकास, गरिबी र निरंकुशताविरुद्धको संघर्षमा मैले र मेरो पुस्ताले कुनै कमी गरेनौं र आजको संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा राजनीतिक व्यवस्थालाई टुङगोमा पुर्याउन समर्पित भयौं।”
उनले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल साबित गरिसकेको पनि बताए।