काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन्। कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ मत आवश्यक परेको अवस्थामा उनले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका ६३ सांसदको समर्थन पाए।
प्रदेशसभाको दोस्रो कार्यकाल छैटौं अधिवेशनको २०औं बैठकले बानियाँलाई विश्वासको मत दिएको हो। बैठकमा ९२ सांसद उपस्थित थिए जसमा २२ मत विपक्षमा र ७ मत तटस्थ थिए। बानियाँ साउन २० गते बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका थिए।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका १३ सांसदले समेत विश्वासको मत दिन बाध्य भएका थिए। बानियाँले संविधानको धारा १६८ उपधारा ४ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार विश्वासको मत प्राप्त गरेको प्रदेशसभा बैठकले औपचारिक रूपमा घोषणा गरेको छ।