काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा शर्मा बोल्दै व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानुनी प्रावधानको पार्टीले विरोध गर्ने बताए।
महामन्त्री शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गर्दै, दुई व्यक्तिबीचको टेलिफोन वार्तासमेत सुन्नसक्ने खालको कानुनको संभावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए।
उनले भने, “सरकार रहँदा पनि गलत कामको संसद र बाहिरबाट विरोध गर्छौं। सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित हुन नपाइयोस् भन्ने हाम्रो प्रष्ट विमति छ। व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कुरा हामीले समर्थन गर्ने छैनौं।”
शर्माले प्रविधि र सञ्चार माध्यममार्फत समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्न सरकारले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए।