काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार काठमाडौँ ल्याई ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ।
रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइएको हो। विमानस्थलमा बाक्लो सुरक्षा घेराबन्दीबीच उनलाई प्रहरीको भ्यानमा राखेर सिधै नख्खु कारागार लगिएको हो। विमानस्थल परिसरमा भेला भएका समर्थक र सञ्चारकर्मीलाई सम्बोधन गर्ने अवसर समेत नदिइ उनलाई तुरुन्तै नख्खु कारागार लगिएको थियो।
सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो। दिउँसो ३ बजेको बुद्ध एयरको उडानमार्फत ल्याउने योजना भए पनि मौसमका कारण ढिलाइ भएको थियो।
लामिछाने गत चैत २५ गतेदेखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशअनुसार रुपन्देही कारागारमा रहेका थिए।