काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा शुभारम्भ हुने बताएका छन्।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौताअनुसार पहिलो चरणमा काठमाडौं र पोखराबाट फाइभजी सुरु गरिने स्पष्ट पारे।
मन्त्री गुरुङले डिजिटल नेपाल कार्यक्रमलाई प्रभावकारी बनाउन इन्टरनेटको गुणस्तर वृद्धिका लागि देशभर काम भइरहेको बताए। उनले हुलाक टिकटदेखि आवश्यक सबै छपाइका लागि सुरक्षा मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर पनि गरे।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति होइन, जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पीएसबी)का रूपमा सञ्चालन गरिएको उनको भनाइ छ। संविधान र कानुनमा दोहोरो अर्थ आउने शब्द प्रयोग नगर्न आग्रह गर्दै उनले त्यसको दुरुपयोग रोक्न सजग हुनुपर्ने बताए।
यस्तै, उनले मिडिया काउन्सिललाई स्वायत्त बनाउन सरकार ध्यान केन्द्रित गरिरहेको र सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए।