काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास र समृद्धिलाई तीव्रता दिन डिजिटल नेपाललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार सिंहदरबारमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिए।
ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानसहितका अधिकारी सहभागी थिए।
हालै स्वीकृत राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) नीति, २०८२ सन्दर्भमा मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप परिमार्जन गरी डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) को रुपमा प्रस्ताव गरेको जानकारी प्रधानमन्त्रीलाई दिइएको थियो।
नयाँ फ्रेमवर्कमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वित्त र सुशासनसँगै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र जलवायु परिवर्तनसमेत समेटिएको छ। त्यसको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रुपान्तरण परिषद् गठन गर्ने प्रस्ताव पनि गरिएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यो नयाँ ढाँचा कार्यान्वयनमा आउनेछ। प्रधानमन्त्री ओलीले यसअघि आफ्नो कार्यकालमै डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ल्याएका थिए।