काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषणा गरेको छ। राष्ट्रिय स्तरमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गरिने भएको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मानित नगरपालिकाहरू यस प्रकार छन्:
-चितवनको खैरहनी नगरपालिका
-रुपन्देहीको तिलोत्तमा नगरपालिका
-धादिङको नीलकण्ठ नगरपालिका
गाउँपालिकातर्फ उत्कृष्ट घोषित भएका पालिकाहरू हुन्:
-स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका
-धादिङको बेनीघाट रोराङ गाउँपालिका
-गुल्मीको रुरु क्षेत्र गाउँपालिका
स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ। सो मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गरेका हुन्।