काठमाडौं । परराष्ट्र मन्त्रालयले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको छ।
बुधबार नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट उठेका प्रश्नमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनिएको छ, “नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।”
मन्त्रालयले भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार तथा सीमा व्यापार जस्ता गतिविधि नगर्न आग्रह गर्दै आएको उल्लेख गर्दै, “उक्त क्षेत्र नेपाली भू–भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको छ,” भनिएको छ।
नेपाल–भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।