काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति र विसंगति फस्टाएको बताएकी छन्। बिहीबार काठमाडौंको थापाथलीमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्दै उनले राजनीतिमा देखिएका विकृतिलाई समाधान गर्न दलहरूले भूमिका निभाउन नसकेको टिप्पणी गरिन्।
भण्डारीले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको उल्लेख गर्दै वर्तमान राजनीतिक प्रणालीअनुसार दलहरू अघि बढ्न असमर्थ भएको प्रष्ट पारिन्। उनले संसदलाई निरीह थलो भएको पनि बताइन्।
पूर्वराष्ट्रपतिले कानुन निर्माणमा समयानुकूल अध्ययनको अभाव रहेको र ठूला दलहरूले संविधान संशोधनको सहमति गरे तापनि संविधानमा के अभाव छ र के आवश्यकता छ भन्ने विषयमा पर्याप्त छलफल नभएको जिकिर गरिन्।
साथै, भण्डारीले शिक्षासम्बन्धी समस्यालाई नेपालका लागि ठूलो चुनौती भएको भन्दै राज्यले प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने औँल्याइन्।