काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन बुधबार हुने भएको छ। प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार विज्ञप्ति जारी गर्दै सभामुख देवराज घिमिरेले निर्वाचन मिति तोकेको जानकारी दिएका हुन्।
कुलिङ पिरियडसम्बन्धी विवादका कारण नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि समितिको सभापति पद रिक्त भएको थियो। नियमअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता रहे पनि निर्वाचन दुई दिनपछि हुने गरी तालिका सार्वजनिक गरिएको हो।
सभामुख घिमिरेले नयाँ सभापति चयन प्रक्रियाबारे आइतबार दिनभर दलहरूसँग छलफल गरेका थिए। तर आन्तरिक परामर्शको आवश्यकता देखाएपछि मिति घोषणा सोमबार गरिएको उनको सचिवालयले जनाएको छ।