काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा कांग्रेस र माओवादी नेतृत्वका पालिकाहरू उत्कृष्ट देखिएका छन्। २०७८/०७९ र २०७९/०८० को आ.व. को नतिजा अनुसार नगरपालिकामा कांग्रेसले र गाउँपालिकामा माओवादी केन्द्रले अग्रस्थान हासिल गरेका छन्।
सार्वजनिक नतिजामा धादिङको नीलकण्ठ नगरपालिका ९३ अंकसहित देशभरका नगरपालिकामा उत्कृष्ट भएको छ। मेयर भीमप्रसाद ढुंगाना (कांग्रेस) र उपमेयर दीपक विश्वकर्मा (माओवादी) नेतृत्वको नगरपालिकामा राजनीतिक भिन्नता भए पनि विकास र कामको समन्वयले उत्कृष्टता हासिल गरेको उपमेयर विश्वकर्माले बताए।
चितवनको खैरहनी नगरपालिका दोस्रो (९२.७५ अंक) र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो (९१.२५ अंक) स्थानमा रहेका छन्। गाउँपालिकामा धादिङको बेनीघाट रोराङ माओवादी नेतृत्वमा पहिलो, गुल्मीको रुरुक्षेत्र दोस्रो र स्याङ्जाको अर्जुनचौपारी तेस्रो स्थानमा छन्।
प्रदेशअनुसार पनि उत्कृष्ट नगरपालिकाहरूमा बागमतीमा नीलकण्ठ, गण्डकीमा भीकोट स्याङ्जा, लुम्बिनीमा तिलोत्तमा, कर्णालीमा नारायण दैलेख र सुदूरपश्चिममा घोडाघोडी नगरपालिका रहेका छन्।
पालिकाहरूले स्वमूल्यांकनमार्फत पठाएको विवरण मन्त्रालयले मूल्यांकन गरी अंक प्रदान गरेको हो। उत्कृष्ट नगर र गाउँपालिकाहरूको छनोट गर्दा राजनीतिक दलको भिन्नता भन्दा प्रणालीगत विकास, आर्थिक पारदर्शिता र लयबद्ध कामकाजलाई प्राथमिकता दिइएको मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।