काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको पदाधिकारी बैठकले उनलाई समितिको सभापति बनाउने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
उनी संसदीय समितिकी सभापति हुन्। यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए। त्यसपश्चात गठित समितिले खतिवडालाई नैतिक जिम्मेवार बनाएपश्चात प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सभापति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। दलीय भागबण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति लिएपछि खतिवडा सभापति बनेका थिए। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।
सोमबार संसद सचिवालयका सचिव हर्कराज राईले जारी गरेको कार्यतालिकामा सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने उल्लेख छ। सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ। कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।
संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको हो।