काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे स्पष्ट रूपमा कुरा उठाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेलगत्तै सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मेयर बालेनले नेपालको सार्वभौमिकता उल्लंघन भएको विषय चीनलाई स्मरण गराउन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला। All the best, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।”
ओलीका कट्टर आलोचकका रूपमा देखिँदै आएका बालेनले यसपल्ट अपेक्षाकृत सौम्य भाषा प्रयोग गरेका छन्। यसअघि उनले ओलीलाई भ्रष्टाचार र अपराध संरक्षणसँग जोडेर आलोचना गर्ने गरेका थिए।
गत साता भारत र चीनले नेपाललाई सोधपुछ नगरी लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमति गरेका थिए। यसबारे नेपाल सरकारले गम्भीर आपत्ति जनाइसकेको छ। यस्तै बेला प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका कारण लिपुलेकको मुद्दा छलफलमा आउने अपेक्षा गरिएको छ।