काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गर्ने निर्णय गरेपछि महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित हुने चेतावनी दिएको हो।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा आश्चर्य छ।”
महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने गरी नियन्त्रण गर्ने कदमलाई अस्वीकार्य ठहर गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गर्दछौं।”