काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउने लक्ष्यसहित ‘मिसन ०८४’ अघि बढाएको बताएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको एमालेको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले अबको निर्वाचनमा कम्तीमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन्। उनले भने, “हामी यतिबेला मिसन ०८४ मा छौँ। यदि हामी सक्रियतापूर्वक जनतामाझ गयौँ र सबै कमिटी परिचालन गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन।”
प्रधानमन्त्री ओलीले एमाले सत्तामा भएकाले निर्वाचनमा धाँधली हुन नदिने स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने विश्वास दिलाए। उनले हल्ला फिँजाइएको भन्दै मध्यपहाडी लोकमार्ग यात्रा गरेर पार्टीको वास्तविक अवस्था जाँचिएको पनि बताए।
उनका अनुसार एमाले राष्ट्रियता, सुशासन, विकास, समानता र न्यायका पक्षमा जनताका लागि आशाको केन्द्र बनेको छ।
ओलीले नेपालको अर्थतन्त्र अहिले समाजवाद उन्मुख भए पनि अझै विकासशील मुलुकको स्तरमा पुग्न नसकेको उल्लेख गरे। उनले भने, “हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ तर समाजवादमा पुगेको छैन, विकासशील पनि भएका छैनौँ। २०८३ मंसिरमा मात्र हामी विकासशीलमा पुग्छौँ।”
उनले २०८४ सालको निर्वाचनलाई निर्णायक मोड बताउँदै एमालेलाई राष्ट्रिय शक्तिको रूपमा उभ्याउने प्रतिबद्धता पनि व्यक्त गरे।