काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज दोस्रो दिनमा प्रवेश गरेको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ८ः०० बजेदेखि कार्यक्रम सुरु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
आजको बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को प्रतिवेदन प्रस्तुत गरेका थिए।
आजैदेखि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गर्ने व्यवस्था गरिएको छ। छलफलपछि सुझाव संकलन गरी महाधिवेशनले अन्तिम निर्णय गर्नेछ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ नारासहित सुरु भएको महाधिवेशनमा देशभरका दुई हजार २६ जना प्रतिनिधिको सहभागिता छ। साथै, आयोजकका हैसियतमा थप ३१५ जना सहभागी रहेकाले कुल संख्या दुई हजार ३४१ पुगेको छ।
एमालेको विधान महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ। आज र भोलि हुने छलफल र प्रतिवेदन प्रस्तुतिकै आधारमा विधान, संगठन र नीतिगत विषयमा महत्वपूर्ण निर्णय लिइने अपेक्षा गरिएको छ।