काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ। यसबीच हालसम्म २६ मध्ये ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका छन्।
बिहीबारको निर्णयलगत्तै मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स) ले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझिसकेको छ। यसैगरी, ‘हाम्रो पात्रो’ ले पनि दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
अर्बपति एलन मस्कको स्वामित्वमा रहेको ट्वीटर (एक्स) शुक्रबार दर्ता प्रक्रियामा आएको छ। यस्तै, चिनियाँ कम्पनीद्वारा सञ्चालित वीच्याटले पनि नेपाल सरकारसँग सम्पर्क गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिएका छन्।
नेपालमा अत्यधिक प्रयोग हुने युट्युब भने अहिलेसम्म सम्पर्कमा आएको छैन। प्रवक्ता ठाकुरका अनुसार, सम्पर्कमा नआउने सञ्जाललाई निष्क्रिय बनाउन प्रक्रिया सुरु भइसकेको छ।
स्न्यापच्याट, लिंक्डइन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, टम्बलर, मास्टोडन, रम्बल, मी वी, भिके (VK), लाइन, जालो र सोल लगायतका सामाजिक सञ्जाल अझै सम्पर्कमा आएका छैनन्।