काठमाडौँ । नेपाली कांग्रेसले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबारे असन्तुष्टि जनाउँदै छलफल गर्ने निर्णय गरेको छ।
आइतबार सभापति शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय उपयुक्त नभएको धारणा राखेपछि यस्तो निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्। उनले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भए पनि पूर्ण रूपमा बन्द गर्नु उचित नभएको बताइन्।
बैठकले मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, कांग्रेस नेता अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल निष्क्रियकरणपछि आम नागरिकमा असन्तोष बढेकाले यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने बताए। “सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्छ, हामी त्यही ढंगबाट कुरा उठाउँछौं,” उनले भने।
साथै, संवैधानिक परिषद्सम्बन्धी विधेयक छलफल नै नगरी सदनमा प्रस्तुत गर्नु उचित नभएको टिप्पणी पनि कांग्रेसले गरेको छ।