काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई धम्की दिने गतिविधि सुरु भएको खुलासा भएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी र त्यसका नेताहरूको नाम दुरुपयोग गरी टेलिफोन मेसेजमार्फत डर, त्रास र धम्की दिने कार्य भइरहेको जानकारी प्राप्त भएको बताएका छन्।
“जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति वा समूहले रास्वपा र पार्टीसँग सम्बद्ध व्यक्तिहरूको नाम प्रयोग गरेर धम्की दिने कार्य भइरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।
प्रवक्ता झाले यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको स्पष्ट गर्दै दोषीलाई छानबिन र कारबाहीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
पार्टीले आफ्ना नाम र पहिचान प्रयोग गरी गरिने गैरकानुनी गतिविधि तत्काल रोक्न माग गर्दै यस्ता गतिविधिबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी दोषी व्यक्तिमाथि पर्ने चेतावनी पनि दिएको छ।
रास्वपाले भनेको छ-
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।