काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी भएका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा र अवरोधका कारण तत्काल आगो निभाउन नसकिएको बताएका छन्।
बिहीबार बागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले बताएअनुसार, केही सञ्चार माध्यमले दमकल समयमै नपठाएको आरोप लगाउँदा, त्यसले देशलाई ठूलो क्षति पुर्याएको जनगुनासो आएको थियो। “आन्दोलन, आगजनी र तोडफोडका कारण दमकल सडकमा निस्किन सक्ने अवस्था थिएन। २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा ढुंगामुढा भएको र नेपाली सेनाको गाडीमाथि पनि ढुंगामुढा भएको थियो,” पाण्डेले भने।
उनले सिंहदरबारमा राति सवा ८ बजेदेखि पौने १० बजेसम्म दुई वटा दमकल परिचालन गरेर आगो निभाएको दाबी गरे। भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत दमकल परिचालन गरिएको उनले जानकारी दिए।
पाण्डेका अनुसार, दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको हो र सुरक्षाको प्रत्याभूतिका आधारमा दमकल सुरक्षित प्रयोग गरिएको छ। उनले घाइतेको उपचार र खानपानको व्यवस्थामा समेत महानगर प्रहरीले खटिएको जानकारी दिएका छन्।
काठमाडौँ महानगरपालिकाले उपत्यकामा पाँचवटा दमकल परिचालन गरेको र आन्दोलनका समयमा सुरक्षा, आपूर्ति र राहत व्यवस्थामा सक्रिय भूमिका खेलेको पनि प्रमुख पाण्डेले स्पष्ट पारे।

