काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी लिएका छन् ।
आज प्रहरी प्रधान कार्यालयमा अवलोकन गर्दै उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न समुदायले देखाएको सदायताले प्रहरीको आवश्यकता र महत्त्व पुष्टि भएको छ। तपाईँहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।’
उनले नेपाल प्रहरीले आफ्नो कार्यक्षेत्रमा देखिएका कमीकमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताए र कानुनबमोजिम कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्यालले थपे, ‘तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’
यसअघि गृहमन्त्रीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको अवलोकन समेत गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतले भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए ।