चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा निरन्तर खसिरहेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड आज रातभर बन्द रहने भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार, सडक दुईतर्फी रूपमा अवरुद्ध भएकाले आज पहिरो पन्छाउने काम रोकिएको छ। उनले भने, “पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएको छैन। भोली मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन सम्भव नहुने देखिन्छ।”
शुक्रबार रातिदेखि थुनिएको सडक अझै खुल्न सकेको छैन। पहिरोका कारण सवारी साधनहरू लामबद्ध अवस्थामा रहेका छन् र सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। लगातार वर्षाका कारण तुइन खोलामा पहिरो रोकिएको छैन।
प्रहरी र स्थानीय प्रशासनले शनिबार दिउँसो अलपत्र यात्रुहरूका लागि पानी र खाना वितरणको व्यवस्था गरेका थिए। साथै, राजमार्ग किनारका व्यवसायीहरूलाई यात्रुहरूलाई सहयोग गर्न अपिल गरिएको छ।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ। यो सडकखण्ड देशको मुख्य राजमार्गमध्ये एक हो र दशैंको मुखमा सडक अवरुद्ध भएपछि यात्रुहरूको यात्रा थप समस्या बनेको छ।