काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा आफ्नो नाम सिफारिस भएपछि वैज्ञानिक महावीर पुनले पहिलोपटक प्रतिक्रिया दिएका छन्।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत पुनले बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।
‘मेरो पहिलो घोषणा- कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला’, उनले लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’
।