काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाईते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने उनले बताए ।
यसका लागि उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने उहाँको भनाई छ । उहाँले युवाहरुको सिप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताए । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई देश फर्केर देशभित्रै रोजगारि दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उनको भनाई छ ।
उनले आफू कानून क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताए ।
उनले भने, ‘जो अहिले साहदत प्राप्त गर्नुभएको छ, घाईतेहरु हुनुहुन्छ, उहाँहरुलाई देशमा भएका उद्योग, उद्यमीहरु जति हाल चलिरहेको छ या चलाईरहेको छ । उहाँहरुलाई म अह्वान गर्न चाहन्छु, उहाँहरुको परिवार कसैलाई रोजगारी दिने । त्यो भएपछि केही हदसम्म पनि उहाँहरुलाई सान्तत्वना हुन्छ की भन्नेजस्तो लागेको छ । त्यतातिर म एकचोटी छलफल गर्छु ।’
उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरे ।