काठमाडौं । देशभरका ५ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्, जसका कारण यातायातमा ठूलो समस्या सिर्जना भएको छ। कोशी प्रदेशको संखुवासभा, भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ। त्यस्तै मकालु गाउँपालिका–३ मा पर्ने कोशी राजमार्ग अविरल वर्षापछि आएको बाढीका कारण भदौ १५ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशको रसुवा जिल्लामा असार २४ गते आएको बाढीले गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल-चीन नाका जोड्ने पुल बगाएको छ। हालसम्म उक्त राजमार्ग खुल्न सकेको छैन। सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका कोदारीमा पर्ने अरनिको राजमार्ग भदौ ९ गतेदेखि अवरुद्ध छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, पहिरो हटाउने काम जारी छ।
यातायात अवरुद्ध भएका कारण प्रभावित क्षेत्रका स्थानीय र यात्रुहरू असुविधामा परेको जनाइएको छ। सरकारले सकेसम्म छिटो राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।