काठमाडौं । जेन–जी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ ।
आयोगको आइतबार बसेको बैठकले छानबिन तथा जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेकोले विदेश भ्रमण रोक लगाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
उनीहरूलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय समितिले गरेको छ ।
समितिले ओली र लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान राेक लगाउन र काठमाडाैं छोड्दा अनुमति लिने व्यवस्था गर्न सिफारिस गरेको हो ।
गत भदाै २३ र २४ गतेको जेन–जी आन्दोलनमा परी हालसम्म प्रदर्शनकारी, सुरक्षाकर्मी र सर्वसाधारण गरी ७४ जनाको ज्यान गएको छ । उक्त घटनामा राज्यद्वारा बल प्रयोग गरिएको भन्दै निष्पक्ष छनबिनका लागि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।