काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्काका लागि गरेको सिफारिसप्रति आपत्ति जनाएको छ। प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै एमालेले आयोगको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको बताएको छ।
‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर अनि दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,’ सचिवालय बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा संलग्न दोषीहरूलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति एमालेले आपत्ति जनाएको छ। ‘यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ। पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।