काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोबाट क्षति भएकाहरूको घर पुनर्निर्माण गरिदिने भएको छ ।
कोशी प्रदेश सरकारको बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षति भएका सबै घर बनाइदिने निर्णय गरेको हो ।
विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका नागरिकका घर तत्कालै बनाउन शुरू गर्ने निर्णय बैठकबाट भएको छ ।
परिषद् बैठकले इलामका सात वटा पालिकालाई संकटग्रस्त घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाममा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ ।
सुनसरी जिल्लाको हकमा वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्ने सरकारले जनाएको छ ।
झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
परिषद् बैठकले चालु बजेटका खर्च र योजना हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटो खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्न बैठकले निर्देशन गरेको छ ।
सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीलाई सहयोग गर्नका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको आन्तरिक मामला तथा कानून मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिए ।