काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।
CIB का एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार, महरालाई भन्सार ऐन, २०६४ र संगठित अपराध कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ ।
महरामाथि केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।
२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।
विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्कालगायतको जिम्मामा राखिएको उक्त सामानको बिक्री–बिखन गरी आपराधिक समूहमार्फत ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुनको कारोबार गरिएको प्रारम्भिक निष्कर्ष ब्युरोले निकालेको छ । हाल महरालाई थप अनुसन्धानका लागि सीआईबीको हिरासतमा राखिएको बताइएको छ ।