काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको छ ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहनेछ । उनले भने, “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउँदा कुनै बाधा छैन।”
यमपञ्चक १ कात्तिकदेखि सुरु
समितिद्वारा स्वीकृत पात्रोअनुसार यस वर्षको यमपञ्चक १ कात्तिक (शनिबार) देखि सुरु हुनेछ । सो दिनदेखि यमदीपदान, धन त्रयोदशी र धनतेरस पर्व मनाइनेछ ।
२ कात्तिक आइतबार काग तिहार र धन्वन्तरी जयन्ती, ३ कात्तिक सोमबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइनेछ ।
समितिले जनाएको छ कि ३ कात्तिक दिउँसो २:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा र दीपमालिका यही दिन गर्नुपर्नेछ । औँसी तिथिमा गरिने स्नान–दान भने ४ कात्तिक मङ्गलबार बिहान गर्नुपर्नेछ ।
गाई, गोरु र आत्म (म्ह) पूजा ५ कात्तिकमा
गाई, गोरु र आत्म (म्ह) पूजा ५ कात्तिक बुधबारका दिन मनाइनेछ । ‘कृत्यवाटिका’ ग्रन्थअनुसार कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने उल्लेख छ । यो पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा हो ।
नेवार समुदायका पञ्चाङ्गकार- सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी — ले प्रकाशन गरेका पञ्चाङ्गहरूमा पनि यही मिति उल्लेख गरिएको छ । सोही दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ ।
भाइटीका र किजापूजा ६ कात्तिकमा
शास्त्रीय विधिअनुसार भाइपूजा (नेवारी भाषामा किजापूजा) पनि ६ कात्तिक बिहीबारका दिन मनाइनेछ । शास्त्रीय ग्रन्थमा ‘भ्रातृपूजा’ भन्ने शब्द प्रयोग गरिएको छ, जसले दाजु र भाइ दुवैलाई जनाउँछ । त्यसैले ज्येष्ठको क्रमअनुसार टीका लगाउने चलन नै शास्त्रसम्मत हुने समितिले स्पष्ट पारेको छ ।
यमपञ्चकको धार्मिक महत्त्व
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक (तिहार) पर्वमा यमदीपदान, काग–कुकुर–गाई–गोरु पूजा, आत्म पूजा र भाइटीका मनाइन्छ ।
परिवारका सदस्यहरूको नाम उच्चारण गर्दै यमदीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने शास्त्रीय विश्वास छ । काग र कुकुरलाई मीठा परिकार खान दिएर यमलोकमा सहयोग पुर्याउने वैदिक परम्परा रहेको समितिले जनाएको छ ।