काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्दै समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
भेट राष्ट्रपति कार्यालय शीतल निवासमा भएको थियो, जहाँ मुख्यत: अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको प्रतिनिधि मण्डलको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा वार्ता भएको राष्ट्रिय सभाले जनाएको छ।
स्वीट्जरल्यान्डको जेनेभामा अक्टुबर १९–२३ मा हुन लागेको महासभामा विश्वका १८१ देशका संसदहरू सहभागी हुनेछन्। यस अवसरमा राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसदको प्रतिनिधि मण्डल जाने तय भएको छ।
यसअघि आइतबार अध्यक्ष दाहालले महासभामा सहभागिता र राष्ट्रिय सभा निर्वाचनबारे जानकारी तथा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए।