काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर संरचना भत्काएको छ।
नेपाल स्काउटले बहालको बक्यौता रकम तिर्न पटक–पटक ताकेता गरे पनि कम्पनीले समयमै रकम बुझाएन। त्यसपछि महानगरले बिहीबार बिहान डोजर परिचालन गरी स्काउट परिसरभित्रका संरचना भत्काएको हो।
स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्टलाई ७ दिनभित्र बक्यौता बुझाउन अन्तिम मौका दिएको थियो। जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा मुचुल्का गरी जग्गा सिलबन्दी गरिएको भए पनि कम्पनीले भोगचलन जारी राखेपछि स्काउटले अल्टिमेटम दिएको थियो।
नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा लैनचौरस्थित ३ रोपनी जग्गा — हाल लैनचौर ब्याङ्क्वेट सञ्चालन भइरहेको क्षेत्र – १० वर्षका लागि भाडामा दिने सम्झौता भएको थियो। सम्झौताको अवधि २०७५ सालमा सकिए पनि कम्पनीले जग्गा फिर्ता नगरी भाडा तिर्ने जिम्मेवारी पूरा गरेको थिएन।
स्काउटका अनुसार कम्पनीले २०७५ सालसम्म मात्र नियमित भाडा बुझाएको र त्यसपछि कुनै रकम नतिरी जग्गा र भवन प्रयोग गरिरहेको थियो।
संरचना हटाउन स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसद्, युवा तथा खेलकुद मन्त्रालय र काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै निरन्तर आग्रह गरेको थियो।

