काठमाडौं । सवारी लाइसेन्स परीक्षामा फेल भएकालाई पनि पास बनाइदिने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही र सहायक कम्युटर अपरेटरद्वय पवन रावल र नरेन्द्र कठरियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गर्दै उनीहरूमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । कार्यालय प्रमुख शाहीले लाइसेन्सको प्रयोगात्मक परीक्षामा फेल भएकालाई पास गराएको, परीक्षामा अनुपस्थितलाई नै पास गराइदिएको र केहीको उत्तर पुस्तिकामा उत्तर नै सच्याइदिएको अख्तियारको अनुसन्धानले देखाएको छ । शाहीको यो कार्यमा कम्प्युटर अपरेटर रावल र कठरियाले समेत सहयोग गरेको अख्तियारले जनाएको छ ।