काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइनसकेको बताएका छन्। बुधबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभइसकेको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए। उनले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए। उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए। उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताए।
उनले भने, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले । हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो।’