काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्व महामन्त्री मुकुल ढकालले देश र जनताका लागि काम गर्ने रवि लामिछाने अब नरहेको दाबी गरेका छन्। सर्वसाधारण बाढी र पहिलोको चपेटामा परिरहेको बेलामा गृहमन्त्रीको रूपमा उनीहरूको राहत र उद्धारमा केन्द्रित हुनुपर्ने बेलामा आफ्नै पार्टीका महामन्त्रीलाई कसरी कारबाही गर्ने भनेर दिनभर बैठकमा बसेको भन्दै उनले यस्तो बताएका हुन्।
गृह मन्त्रालयले गर्नुपर्ने एक्सन जनताले अनुभूति गर्न सकेनन्। रवि लामिछाने त्यस कुर्सीमा आसीन भएकाले बाढी पहिरोमा उद्धार कार्य अगाडि बढाउनुपर्नेमा पार्टीको बैठक राखेर दिनभरि पार्टीको बैठकमा बस्दा दुख लाग्यो,’ उनले भने।
उनले बुधवार पत्रकार सम्मेलन आयोजना गरेर आफूले चिनेको रवि लामिछानेले पार्टीमा कुनै समस्या आए दुई चार दिन पर सारेर समस्यामा परेका जनताका लागि काम गर्ने गरेको भन्दै अब त्यो बेला चिनेको रवि लामिछाने नरहनुभएको दाबी गरे।
पार्टीको अवस्थाबारे विभिन्न जिल्लामा गएर अनुगमन गरेर तयार पारेको प्रतिवेदनको विवादमा हालै रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी कारबाही गरिसकेको छ।