काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले मागेको विश्वासको मत प्राप्त हुन सकेन । विश्वासको मत सम्बन्धी प्रस्तावको मत विभाजन प्रक्रियामा २५८ सांसद सहभागी भएकामा प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा १९४ मत खसेको छ भने १ सांसद तटस्थ रहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल १८ महिनामा पाँचौंपटक विश्वासको मत लिँदा असफल भएका हुन् ।
पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत मागेका थिए ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।