काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको सरकार परिवर्तनले सिंगै देशलाई नयाँ आशा जगाएको बताएका छन् । विगतमाजस्तो पार्टीभित्रको घेराबन्दी अहिले नरहेकोले काम गर्न सहज रहेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पार्टीको सिन्धुपाल्चोक सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा ओलीले यसपटकको सरकार परिवर्तनले जनतामा नयाँ भरोसा पैदा गरेको बताएका हुन् ।
‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समय-समयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु– नेपाली जनतामा आशा, भरोसा जागेको छ,’ ओलीले भने ।
ओलीले आफूले प्रधानमन्त्रीको पद स्वीकार्नुको अर्थ केबल प्रधानमन्त्री हुनुका लागि मात्र नभएको बताए । उनले विगतमा जस्तो पार्टी भित्रबाट घेराबन्दी नरहेकोले काम गर्न सहज रहेको बताए ।