काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधामनन्त्री ओलीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न चीनलाई आग्रह गरेका छन् ।
उनले भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए । नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को पनि प्रशंसा गरे ।
चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको प्रधानमन्त्रीले चर्चा गरे । ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने उल्लेख गरे ।
प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राख्दै प्रधानमन्त्रीले भने, ‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ ।’ ‘प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ । लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन,’ ओलीले भने ।
चीन प्रविधिको विकासमा संसारमै अगाडि रहेको उल्लेख गर्दै उनले कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको विकासमा चीन निरन्तर अगाडि बढिरहेको बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने छन् ।