विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अंकुश नलाग्ने र लाग्ननहुने बताएका छन् । तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन नसकिने उनले बताए ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अंकुश लाग्दैन, लाग्नुहुँदैन, तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन सकिँदैन ।’
उनले सार्वभौम जनताबाट घोषित लोकतन्त्र कसैले पनि मास्न नसकिने बताउँदै लोकतन्त्र दुर्घटनामा प¥यो भने आमनागरिकले दुःख पाउने भएकाले त्यसतर्फ हामी सबै सचेत हुनुपर्ने बताए ।

पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताए । उनले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताए ।
राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको स्पष्ट गर्दै महासचिव पोखरेलले भने,‘जब मुलुकमा समस्या आउँछ तब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने गर्दछ । यसरी बनेको शक्तिशाली सरकारले समस्याको समाधानसहित देशलाई राजनीतिक निकास दिन्छ ।’
उनले ले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गरे ।
हल्लाका पछि लाग्नुभन्दा सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गरी आम जनतालाई सुसूचित गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गर्दै उनले भने,‘पञ्चायती व्यवस्था मुलुकको लागि अन्धकार व्यवस्था थियो, जहाँ साक्षरता प्रतिशत कम थियो, बिजुली उत्पादन हुन सकेको थिएन, नागरिकको प्रतिव्यक्ति आम्दानी कम थियो र खानेपानी सुविधाबाट जनता बञ्चित थिए ।’
महासचिव पोखरेलले नेपाललाई राम्रो भएको देख्न नचाहने समूहकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगरेको उल्लेख गर्दै जनता सचेत भइसकेको अहिलको अवस्थामा भ्रम सिर्जना गरेर कसैलाई पनि गुमराहमा राख्न नसकिने धारणा व्यक्त गरे ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेललगायतले मन्तव्य राखेका थिए ।