काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ सेवा सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शनिबार अस्पतालमा १५ शय्याको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधियुक्त ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले त्रिवि शिक्षण अस्पतालले सुरु गरेको नयाँ सेवाले सर्वसाधारण नागरिकलाई सुपथ र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे।
उनले भने, “थपिएको सेवाले धेरै नागरिकलाई सहज सेवा दिनेछ। आगामी दिनमा सेवा विस्तार तथा अस्पतालको आधुनिकीकरणमा मन्त्रालयको निरन्तर सहयोग रहनेछ।”
अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयको सहयोगमा अत्याधुनिक थ्री टेस्ला एमआरआई मेसिन प्राप्त भएको हो। अब बिरामीले महँगा शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता हट्ने उनले बताए।
बिरामीको चाप उच्च रहे पनि आकस्मिक कक्षमा सीमित शय्याका कारण एकै बेडमा दुई-दुई जना बिरामी राख्नुपर्ने अवस्था आइरहेको थियो। अब १५ शय्यासहितको ‘ग्रीन एरिया वार्ड’ सुरु भएपछि उक्त समस्या समाधानमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल प्रशासनको भनाइ छ।