काठमाडौं । नेपाली पर्वतारोही ल्हाक्पा शेर्पा ले ११औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी छन्।
सगरमाथा आधार शिविरमा रहेका छाङदावा शेर्पाका अनुसार ल्हाक्पा आज बिहान करिब ९ः३० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा मा पुगेकी थिइन्। यससँगै उनले आफ्नै विश्व कीर्तिमानलाई थप मजबुत बनाएकी छन्।
‘पर्वतकी रानी’ उपनामले चिनिने ल्हाक्पा हाल अमेरिकामा बस्दै आएकी छन्। गत वर्ष पनि उनी सगरमाथा आरोहण प्रयासका लागि नेपाल आएकी थिइन् तर अभियान पूरा गर्न नसकी फर्किएकी थिइन्।
यसअघि उनले ८ पटक उत्तरी मोहडा (तिब्बततर्फ) र २ पटक दक्षिणी मोहडा (नेपालतर्फ)बाट सगरमाथा आरोहण गरिसकेकी थिइन्। ल्हाक्पा सगरमाथा आरोहणपछि सुरक्षित रूपमा फर्किने पहिलो नेपाली महिला आरोहीका रूपमा पनि परिचित छन्।

