कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश हिमलाल बेलबासे को इजलासले तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी ले गरेको निर्णयलाई सदर गर्दै रविविरुद्धका दुई अभियोग हटाउने आदेश जारी गरेको हो।
महान्यायाधिवक्ता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर हटाउने तथा सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत राख्ने प्रस्ताव गरेको थियो। उक्त मुद्दामा रविसँगै गितेन्द्र बाबु राई र छबिलाल जोशी लाई पनि प्रतिवादी बनाइएको छ।
अदालतले आदेशमा पीडित बचतकर्ताको रकम सहज र छिटो फिर्ता गराउने उद्देश्यलाई प्राथमिकता दिइएको उल्लेख गरेको छ। सहकारी ठगीसम्बन्धी अभियोग कायम रहने भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी भने संशोधन गरी हटाइएको आदेशमा जनाइएको छ।
आदेशमा अभियोजन पक्षको संशोधन मागमा कुनै दुराशय नदेखिएको तथा जाहेरवाला र प्रतिवादी दुवै पक्षको हकहितप्रति संवेदनशीलता देखिएको उल्लेख गरिएको छ। अदालतले संशोधन नगरेमा मिलापत्र तथा पीडितको रकम फिर्ता प्रक्रिया थप जटिल बन्न सक्ने ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्न आदेश दिएको हो।

