काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका ९ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सरुवा गर्ने निर्णय गरेको छ।
यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ तथा कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, समुद्री क्षेत्रको राष्ट्रिय अधिकार क्षेत्रबाहिरको जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता (BBNJ Agreement) अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति दिएको छ।
यसैगरी, सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गरेको छ।

