इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले हालै गरेको आक्रमणको प्रतिकारस्वरूप कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै संयुक्त रूपमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीका अनुसार आईआरजीसीको नौसेना र वायु सेनाले कुवेतस्थित अरिफजान सैन्य शिविर र अली अल सलाम वायुसेना अड्डा तथा बहराइनस्थित शेख इसा वायुसेना अड्डा र जुफैर क्षेत्रमा रहेका अमेरिकी सैन्य पूर्वाधार तथा सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
जुफैर क्षेत्रमा अमेरिकी नौसेनाको प्रमुख सहायता केन्द्र रहेको छ, जहाँ अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालय अवस्थित छ।
आईआरजीसीका अनुसार यी आक्रमणहरू अमेरिकाले इरानका दक्षिणी तटीय प्रान्तहरू तथा पूर्वी इरानका दुईवटा पुलमा गरेको हवाई आक्रमणको जवाफस्वरूप गरिएको हो।
यसअघि आईआरजीसीले अमेरिकी सेनाले तेहरानको उत्तरपूर्वमा रहेको अक्काला क्षेत्रको रेल पुलमा पनि आक्रमण गरेको आरोप लगाएको थियो। इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा उक्त रेल पुलमा क्षति पुगेको देखिएको जनाइएको छ।
यता अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जारी गरेको वक्तव्यमा आफ्नो सेनाले इरानको तटीय क्षेत्रमा रहेका ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ। तर, रेल पुलमा आक्रमण गरिएको विषयमा भने कुनै टिप्पणी गरेको छैन।
घटनापछि बिहीबार बिहान कुवेत र बहराइनमा सम्भावित आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको थियो। कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षबाट आएका ड्रोन तथा क्षेप्यास्त्रको सम्भावित खतराविरुद्ध सक्रिय रूपमा प्रतिकार गरिरहेको जनाएको छ।
आईआरजीसीले अमेरिकाले थप सैन्य प्रतिक्रिया जनाएमा मध्यपूर्व क्षेत्रमा रहेका अन्य अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाइने चेतावनी दिएको छ।

