काठमाडौं । लमजुङमा पाँच दिनदेखि बेपत्ता भई जंगलमा मृत फेला परेका बेसीशहर नगरपालिका–८ का ५७ वर्षीय बुद्धिबहादुर बोहराको हत्या उनकै निकट साथीले सुनको लोभमा गरेको रहस्य खुलेसँगै घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। हत्या गरेपछि मृतकको सुन चितवन लगेर बिक्री गरिएको र खरिदकर्तासमेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक अनुसन्धानबाट दोर्दी गाउँपालिका–१ ढोके स्थायी घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएका विजय लामिछानेले आर्थिक लाभको उद्देश्यले आफ्नै साथी बोहराको हत्या गरेको जनाएको हो।
प्रहरीका अनुसार असार २१ गते बोहराको घाँटीमा रहेको २.४९५ तोला सुन देखेपछि लामिछानेको मनमा लोभ जागेको थियो। त्यसपछि उनले चिलाउनेको हाँगा प्रयोग गरी बोहराको टाउको र शरीरका संवेदनशील भागमा प्रहार गरेका थिए। घटनास्थलमै बोहराको मृत्यु भएपछि शवलाई गाईखुरे झरनानजिकको जंगलमा लुकाएर उनले मृतकको सुन लिएर फरार भएका थिए।
अनुसन्धानका क्रममा हत्या गरेपछि लामिछानेले उक्त सुन चितवनको भरतपुर महानगरपालिका–२१, पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ। पसल सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्माले उक्त सुन ६ लाख ४४ हजार रुपैयाँमा खरिद गरेका थिए।
प्रहरीका अनुसार विश्वकर्माले सुन खरिद गर्दा तत्काल ४४ हजार रुपैयाँ नगद भुक्तानी गरेका थिए भने बाँकी रकम पछि दिने सहमति भएको अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित प्रमाण फेला परेपछि प्रहरीले विश्वकर्मालाई पनि पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, मुख्य आरोपी विजय लामिछानेलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालत लमजुङले पाँच दिनको म्याद थप गरेको छ। प्रहरीले घटनामा प्रयोग भएको सामग्री, बिक्री गरिएको सुन तथा आर्थिक कारोबारका विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

