स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गरेका छन् ।
कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् ।
सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वि.सं. २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र वि.सं. २०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

