काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सुरुमा आइतबार सवा एक बजे बस्ने गरी बैठकको समय निर्धारण गरिएको थियो । तर, सो समयमा पनि बैठक बस्न नसक्ने भएपछि सवा तीन बजेसम्मका लागि बैठक सारिएको थियो । तर, यो समयमा पनि बैठक बस्न नसक्ने भएपछि अध्यक्ष नारायण दाहालले सोमबार सवा एक बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बैठक बोलाइएकोमा पछि २ बजेका लागि सारिएको थियो । तर, पौने चार बज्दासमेत प्रतिनिधिसभा बैठक पनि सुरु हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन गर्न समिति बन्नुपर्ने माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ । शनिबार दलहरूबीच संसदीय छानबिन समिति बनाउने सहमति जुटे पनि सो समितिको कार्यदेशमा सहमति हुन सकेको छैन ।
कार्यदेश बनाउन गठन गरिएको कार्यदलको बैठक आइतबार बसे पनि सहमति हुन सकेको छैन । सत्ता पक्षले व्यक्तिको नाम नतोक्ने अडान लिएको छ भने कांग्रेसले लामिछानेको नाम तोक्नुपर्ने अडान लिएको छ । यसैकारण कार्यदेशमा सहमति हुन सकेको छैन ।