काठमाडौं । लमजुङका भिरहरुमा मौरीको सिकार हुने गर्दछ । विशेषगरी मर्स्याङ्दी, दोर्दी गाउँपालिकामा बढी मात्रामा भिरमौरी पाइन्छ । लमजुङमा हरेक वर्षको २ पटक मह निकाल्ने परम्परा रहेको छ ।
भीर महबाट हरेक वर्ष गाउँलेले आम्दानीको स्रोत बढाउँदै आएका छन् । विशेषगरी गुरुङ समुदायका मानिसहरूको आम्दानीको स्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षहरूमा भने पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ । महसिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि ‘हनिहन्टिङ फेस्टिबल’का रूपमा पहिलोपटक ०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँहरूमा पर्यटक आकर्षणका रूपमा महसिकार हुने गरेको छ।
गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै महसिकार धान्दै आएका छन् । लमजुङको सिउरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहरामा भिरमौरी प्रशस्त पाइन्छ ।
सबै तस्बिरहरु प्रकाश माथेमा/एपिएफ