हाम्रो हेडलाइन संवाददाता
काठमाडौं । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार बजेट ल्याएको छ ।
सोमबार भएको १३ औं नगरसभाले उक्त बजेट सार्वजनिक गरेको हो । गत वर्ष तुलनामा दोब्बर बढी बजेट ल्याएको नगरले जनाएको छ ।
नगरले भौतिक पुर्वाधार शिक्षा, स्वास्थ र रोजगालाई प्राथमिकता दिएको छ । नगरपालिकाको तेह्रौ नगर सभामै बजेट प्रस्तुत गर्नु अघि नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
बस्नेतले त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको बताए ।
आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा विषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ ।
लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “त्रियुगा नगरपालिकाको इच्छा, सवैलाई गुणस्तरीय शिक्षा” भन्ने अभियानलाई अगाडि बढाई विपन्न, जेहेन्दार, गरिव, दलित तथा लोपोन्मुख जातिको शिक्षामा पहुँच विकास गर्नका लागि छात्रवृत्तिको दायरा थप गर्दै जाने उल्लेख गरिएको छ ।
यस्तै कृषि क्षेत्रलाई उत्पादन मुखी वनाउन विभिन्न सहकारी खेती, करार खेती, सामुदायिक खेती र चक्ला बन्दी खेती कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषि पेशालाई व्यवसायीक रुपमा सञ्चालन गर्न चाहानेलाई विना धितो २ लाख सम्म सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउने नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ । यस्तै कृषि यध्ययन गर्न चाहाने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोषको स्थापना गरि सञ्चालन गरिने बताइएको छ ।
नीति तथा कार्यक्रममा नगरका सबै वडाहरुमा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रहरुलाई सुबिधा सम्पन्न बनाई बर्थिङ सेन्टरको निर्माण गरि सबै स्वास्थ्य संस्थाहरुमा एम्बुलेन्सको ब्याबस्थ गरिने र नगर भित्रका प्रसुती अवस्थाका महिलालाई प्रसुती सेवाको लागि बर्थिङ सेन्टर सम्म पुर्याउन वा जटिलताका कारण बाहिर लानु परे निःशुल्क सेवाको व्यवस्था गरिने बताइएको छ ।
मेयरसँग जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको परीक्षण तथा आधारभुत औषधीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।