काठमाडौं । चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि बेसिशहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेसिशहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले जानकारी दिए । पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ । पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ ।
यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।